Email : recentpublicnews@gmail.com

Breaking News

महेन्द्रबहादुर शाही प्रदेश ६ को मुख्यमन्त्रीमा नियुक्त, सपथ शुक्रबार

रिसेन्टपब्लिकन्यूज 
फागुन ३, सुर्खेत । प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन्।
 
प्रदेश प्रमुख दुर्गाकेशर खनालले शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। माओवादी केन्द्रको संसदीय दलका नेता शाही कालिकोटको निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट निर्वाचित सांसद हुन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त भए पनि शाहीले पद तथा गोपनीयताको सपथ भने शुक्रबार लिनेछन्। 
 
प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा आलोपालो गर्नुपर्ने अडान लिँदै आएको नेकपा एमालेले अन्तिम समयमा अडान छाडेपछि शाहीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।
 
एमालेले प्रदेश सरकारको नेतृत्व आलोपालो हुनुपर्ने, मन्त्रालयको भागबन्डा र अन्य विषयमा प्याकेजमै सहमति हुनुपर्ने अडान राख्दै आएको थियो। यही विषयमा दुई दलबीच कुरा नमिलेपछि मुख्यमन्त्री चयनको प्रक्रियामा पनि ढिलाइ भएको थियो। 
 
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्रमा मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुनुपर्ने संवैधानिक व्यवस्था छ। यही व्यवस्था अनुसार आज ३० दिन पुगेको छ। 
 
दुई दलबीच भएको भागबन्डा अनुसार माओवादीले संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्री चयनका लागि बुधबार नै बहुमत सांसदहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी गरेको थियो। तर, एमालेका सांसदहरूले हस्ताक्षर नगरेपछि उक्त दाबी पेश हुन सकेन। अन्तिम दिन बिहीबार मात्रै एमाले सांसदहरुले मुख्यमन्त्रीमा शाहीलाई समर्थन गर्नेगरी हस्ताक्षर गरेका हुन्। ४० सदस्यीय प्रदेशसभामा एमालेका २० र माओवादी केन्द्रका १३ जना सांसद छन्।



प्रतिक्रियाहरु